FAQs Complain Problems

एक घर एक बैंक खाता घोषणा कार्यक्रमका झलकहरु

बाजुरा  जिल्लाको खप्तड छेडेदह गाउँपालिका एक घर एक बैंक खाता अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंक लिमिटेडको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो । ‘वित्तिय चेतनामा अभिबृद्धि-सन्तुलित आर्थिक गतिबिधि आत्म निर्भरताको लागि बैंक खाता’मार्फत वचत बृद्धि नारा तय गर्दै गाउँपालिकाले हिमालयन बैंक मार्फत अभियान चलाएको थियो । शुक्रबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रम बीच उक्त घोषणा गरिएको हो । २०७६ सालको नयाँ वर्षमा सरकारले ‘समृद्धिसँग जोडौं नाता, सबै नेपाली बैक खाता’ नारा सहित खोलौ बैंक खाता अभियान घोषणा गरेको छ ।  ३,२३४ घरधुरी रही २२,१३५ जनसंख्या रहेको गाउँपालिकामा करिब १ वर्षको अबधिमा बैंकले उक्त अभियान अन्तर्गत ९,४७६ खाता खोली सञ्चालनमा ल्याएको हो । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सुदुरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक शुभाषचन्द्र घिमिरेले बैंक तथा वित्तिय संस्थाको सहभागितामा मात्र आर्थिक गतिबिधि सहज हुने तथा विकासका कार्यक्रमले गति लिने बताए । यस क्षेत्रको बैंकिङ्ग सचेतनाको स्तर निकै उच्च रहेको आफुले महसुश गरेको उनको भनाई छ । अभियान सञ्चालनमा सहभागी सबैलाई धन्यवाद दिदै उनले यस किसिमको काम नेपालकै वित्तिय साक्षरता अभियानको लागि नमुना भएको बताए । कार्यक्रमका सभापति एवं गाउँपालिका अध्यक्ष नरबहादुर रावतले नेपालमा बैंकिङ्ग सेवाको सुरुवात भएको ८६ वर्ष पश्चात् भएपनि मानव बिकास सुचकांकको अन्तिम स्थानमा रहेको जिल्लाको स्थानीय निकायले नै वित्तिय साक्षरता अभियानमा नमुनाको रुपमा उदाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बाजुरा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु, स्थानीय ३१ सार्वजनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, सर्वसाधारण लगायत करिब ५ हजारको उपस्थिति रहेको थियो ।

प्रकार:

आर्थिक वर्ष: